रुरुक्षेत्र विकास समाजको विस्तृत परिचय
नेपालको संविधान २०७२ ले व्यवस्था गरेको राज्यको भौगोलिक पुनःसंरचनाअनुसार साविकका ६ वटा गाउँ विकास समितिहरू (रुरु, थानपति, ग्वादी, वलेटक्सार, वाम्घा र रिमुवा) समेटिएर एउटै रुरुक्षेत्र गाउँपालिका बन्यो । साविकका ग्वादी विकास समाज, थोर्गा–काठमाडौँ सम्पर्क तथा विकास मञ्च, बम्घा सम्पर्क समाज जस्ता सामाजिक संस्थाहरू काठमाडौँमा क्रियाशील भए पनि गाउँ विकास समितिहरू वडामा परिणत भएपछि सिङ्गो गाउँपालिकाको प्रतिनिधित्व गर्ने, सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा आई स्थायी वा अस्थायी रूपमा बसोवास गर्ने समस्त रुरुक्षेत्रवासीहरूको एउटा सुखदुःख बिसाउने तथा रुरुक्षेत्र र काठमाडौँलाई जोड्ने सेतु संस्थाका रूपमा एउटा गैरराजनीतिक सामाजिक संस्थाको आवश्यकता महसुस भयो । यसै सन्दर्भमा मिति २०७५ असार २१ गते यसै एआईए स्कुल शंखमुलको आँगनीमा तत्कालीन प्रदेश सभा सदस्य द्वय माननीय कमल राज श्रेष्ठ, माननीय बाबुराम गौतम, तत्कालीन रुरुक्षेत्र गाउँपालिका प्रमुख श्री नीलकण्ठ गौतम, वडा स्तरीय समाजका पदाधिकारी, विभिन्न वौद्धिक, प्राज्ञिक, प्रशासनिक, सामाजिक, व्यावसायिक, राजनीतिक व्यक्तित्वहरूको समुपस्थितिमा रुरुक्षेत्रवासीहरूको वृहद् प्रथम भेला आयोजना गरियो ।
उक्त वृहद् भेलाले सिङ्गो रुरुक्षेत्र गाउँपालिकाको प्रतिनिधित्व गर्ने गैरराजनीतिक, गैरनाफामूलक सामाजिक संस्था स्थापना गर्ने सैद्धान्तिक सहमतिसहित १९ सदस्यीय तदर्थ समिति गठन गरी एउटा वैधानिक सम्पर्क समाजको स्थापनाका निमित्त सम्पूर्ण अधिकार प्रदान ग¥यो । त्यसपछि विभिन्न चरणमा भएका औपचारिक र अनौपचारिक वैठक, छलफल र बहसबाट “यस संस्थाको नाम “रुरुक्षेत्र विकास समाज, काठमाडौँ” नामाकरण भयो, विधान तयार भयो । सङ्घसंस्था दर्ता ऐनअनुसार मिति २०७८ साल भाद्र ८ गते काठमाडाँैं जिल्ला प्रशासन कार्यलय, काठमाडौँमा “रुरुक्षेत्र विकास समाज, काठमाडौँ” नामक यो संस्था विधिवत् दर्ता भयो ।
उद्देश्यहरू
यस “रुरुक्षेत्र विकास समाज, काठमाडौँ” ले मूलतः दुई सिद्धान्तका आधारमा आफ्ना उद्देश्यलाई निर्धारण गरेको छः
(क) यो संस्था मुनाफारहित, गैर राजनीतिक, सामाजिक, कल्याणकारी संस्था हुनेछ ।
(ख) रुरुक्षेत्र गाउँपालिका अन्तर्गतका धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रचार–प्रसार गर्ने ।
(ग) स्थानीय पर्यावरण संरक्षणका लागि सहयोग गर्ने ।
(घ) स्थानीय तहका विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पु¥याउने ।
(ङ) स्थानीय उत्पादनहरूको प्रचार–प्रसारको माध्यमबाट व्यापार प्रवद्र्धनमा सहयोग पु¥याई स्थानीय उद्यमीहरूलाई प्रोत्साहित गर्ने ।
(च) रुरुक्षेत्र गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरूबाट काठमाडौं उपत्यकामा आई विभिन्न पेसा, व्यापार, व्यवसाय अपनाई स्थायी वा अस्थायी रूपमा बसोवास गर्दै आएका व्यक्तिहरूका बीचमा सद्भाव, सहयोग, मित्रता र सत्प्रेमकोे अभिवृद्धि गर्ने ।
(छ) रुरुक्षेत्र गाउँपालिका तथा काठमाडौं उपत्यकामा बसोवास गर्दै आएका व्यक्तिहरूको व्यक्तित्व विकासमा सहयोग पु¥याउने ।
(ज) यस संस्थाको उद्देश्यसँग मिल्ने अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँग समन्वय गरी संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्ने तथा सहयोग आदान–पदान गर्ने ।
(झ) राजधानीबाट रुरुक्षेत्र गाउँपालिकाका लागि हुने, हुन सक्ने वा प्रक्रियामा रहेका कामकारवाहीहरूमा सहजीकरणको भूमिका निर्वाह गर्ने ।
(ञ) दैवी–प्रकोप, दूर्घटना तथा निःसहाय व्यक्तिहरूलाई सहयोगका निमित्त पहल गर्ने ।
(ट) समाजमा रहेका सामाजिक कुरीति र अन्धविश्वासलाई हटाई चेतनशील तथा समायानुकूल समाज निर्माणमा प्रयत्नशील रहने ।
(ड) स्वच्छ, स्वस्थ र रमणीय वातावरण निर्माणको निमित्त चेतना जागृतिसँगै पर्यावरण संरक्षण र सरसफाई सम्बन्धी कार्य गर्ने ।
